बर्षाले लमजुङका विभिन्न ग्रामीण सडकमा क्षति, मर्मत जारी

बर्षातका कारण लमजुङका विभिन्न ग्रामीण सडकहरुमा क्षति पुगेको छ । मंगलबार र बुधवारको भिषण बर्षाले बेसीशहर घलेगाउँ भुजुङ सडक लगायत जिल्लाका विभिन्न ग्रामीण सडकहरुमा क्षति पुगेको हो ।

बुधवार रातीको बर्षाले बेसीशहर घलेगाउँ भुजुङ जोड्ने सडक नराम्ररी क्षतिग्रस्त भएको छ । बिशेषगरी पुमाभीरदेखि बाग्लुङपानीसम्मको खण्डमा मोटरसाइकलसमेत गुड्न नसक्ने गरी क्षति भएको छ ।


सडकमा नालीको ब्यवस्था नभएका कारण अविरल बर्षापछि पुमाभीर खण्डको सडकमा बगेको भलले सडकमा सवारी साधन गुड्नै नसक्ने गरी क्षति पुगेको हो । सडकमा बगेको भलले सडकको माटो र ग्र्याबल बगाएपछि सडकको बीच बीचमा ठूला ठूला खाडल परेका छन् ।

केही दिन अघि मात्र उक्त सडक स्तरोन्नति गरिएको थियो । गत बैशाख २१ देखि सडक नै बन्द गरेर पुमाभीरमा केही ठाउँमा सडक ढलान गरिए पनि ढलानबाहेकका सडकमा भलले क्षति पुर्‍याएको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजन भएको ३० लाख रुपैयाँ बजेटबाट सडक स्तरोन्नति गरिएको बताईए पनि सडकको काम निकै कम देखिएको स्थानीयले बताएका छन् ।


बाढीका कारण मस्र्याङदी गाउँपालिकाका विभिन्न ग्रामीण सडकहरुमा पनि क्षति पुगेको छ । सो पालिकाको वडा नं. १ र २ का घनपोखरा, वडा नंं ३ को खुदी, वडा नंं ७ र ८ को भुलभुलेका विभिन्न ग्रामीण सडकहरुमा बर्षाले क्षति पुगेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।

पालिकाका अन्य वडाहरुमा समेत बर्षाका कारण सडकमा क्षति भएको र पालिकाको एउटा मेसिनले निरन्तर सडक मर्मतका काम गरिरहेको उनले जानकारी दिए ।

शुक्रबार बेलुकीसम्म वडा नं. १ र २ को सडक खुलाउने काम भएको र शनिबारदेखि वडा नंं ३ र ८ मा क्षति भएका सडकहरुको मर्मत गर्ने गरी काम भइरहेको गुरुङले जानकारी दिए ।

मनसुन शुरु भइ बर्षा हुन थालेपछि अधिकांश ग्रामीण सडकमा क्षति भएको भन्दै उनले क्षतिग्रस्त सडकको मर्मतका लागि तालिका बनाएर काम अगाडि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया