बेसीशहर, बैशाख १० । लमजुङको मध्यनेपाल नगरपालिका वडा नंं १० थान्सिङमा रहेको मालिका देवी मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं प्रथम मालिका देवि धार्मिक महोत्सव २०८१ शुरु भएको छ ।
मध्यनेपालकै धार्मिक धरोहर र आस्थाको प्रतीकको रुपमा रहेको पवित्र धार्मिकस्थल मालिका देवीको मन्दिरको उचित ब्यवस्थापन गरी यसलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न धार्मिक महोत्सवको आयोजना गरिएको हो ।
धार्मिक महोत्सवको आयोजना मध्य नेपाल नगरपालिकाले गरेको हो । महोत्सवको संयोजक मध्यनेपाल नगरपालिका वार्ड न १० र ब्यवस्थापन मालिका देवि संरक्षण तथा बिकास समितिले गरेको छ । धार्मिक महोत्सव बैशाख ७ गते शुरु भएकोमा १३ गतेसम्म चल्नेछ ।
महायज्ञमा वाचक पण्डित ईश्वर रेग्मीले कथा वाचन गरिरहेका छन् । बिहान ७ बजेदेखी पूजा–अर्चना र आरती सुरु गरी दिउसो श्रीमद्भागवत पाठ, सङ्गीतमय प्रवचन र साँझ भक्ति सङ्गीत र आरती भइरहेको छ ।
मध्यनेपाल नगरपालिकाकै आस्थाको धरोहरको रुपमा रहेको मालिका देवी मन्दिरको उचित ब्यवस्थापन गरी मन्दिरको महिमा लाई समग्र लमजुङका साथै देश विदेशमा फैलाउन धार्मिक महोत्सवको आयोजना गरिएको उनले बताए ।
“मलिका देवी मध्यनेपाल नगरपालिकाको पहिचान हुन्, यसको विकास र प्रचार प्रसार गर्न सके यस क्षेत्रमा धार्मिक पर्यटक भित्र्याएर रोजगारी सिर्जाना गरी स्थानीयको आर्थिकस्तर उठाउन सकिन्छ”– मेयर पाण्डेले भने ।
मध्यनेपाल नगरपालिकाका प्रवक्ता एवं वडा नंं १० का अध्यक्ष रामचन्द्र भण्डारीले मालिका देवीप्रति मध्यनेपालको वडा नं. १० मात्र नभइ देशकै आस्थाकी प्रतीक भएकीले मन्दिरको संरक्षण, सम्बद्र्धन, विकास र प्रचार प्रसारका लागि धार्मिक महोत्सव आयोजना गरिएको उनले बताए । उनले मालिका देवी मन्दिर क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्न नगरपालिका लागि परेको भन्दै सबैको सहयोग भएमा सिंगो मध्यनेपाल र लमजुङकै पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बताए ।
मालिका देवी मान्छेको रुपमा जन्म लिएर देवीको रुपमा पुजिएकी देवी हुन् । पौराणिक कथा अनुसार सदियौं पहिला स्थानीय कोइराला परिवारकी एक बालिका एकाएक घरबाट अलाप भइन् । खोज्दा कहिँ भेटिइनन् । केही दिनपछि गाउँमाथिको जंगलमा बाख्रा चराउन गएकी गाउँकी एक बुढी आमाले सुनको काइँयोले कपाल कोर्दै गरेको अवस्थामा ती बालिकालाई देखिछन् । बुढी आमाले ती बालिकालाई कहाँ हराएकी थियौ ? घरगाउँमा सबैले तिमीलाई खोजिरहेछन् भन्दा ती बालिकाले आफू मालिका देवी भएको र घर छोडेर जंगलमा बसेको बताइछन् । यो कुरा कसैलाई नभन्नु भनेर ती बालिका अन्तध्र्यान भइछन् ।
यो कुरा ती बुढी आमाले बालिकाका बा आमा र गाउँमा सुनाइछन् । नभन्नु भनेको कुरा भनेकाले ती बुढी आमाको मृत्यु भएको किंवदन्ती छ । पछि गाउँलेहरुले जंगलमा गएर ती बालिका अन्तध्र्यान भएको ठाउँलाई मालिकाको मन्दिरको रुपमा पुज्न थालेका मन्दिरका पुजारी हरिश्चन्द्र कोइरालाले बताए । कोइरालाका अनुसार तिनै मालिका देवी कोइरालाहरुका कूलदेवीसमेत हुन् ।
मालिका देवी सम्बन्धी भिडियाे हेर्नुहाेस् ।