गुरुङ सम्पदा मार्गको अध्ययन एवं प्रवर्द्धनका लागि पदयात्रा

मिलन शर्मा दनाई

बेसीशहर, जेठ ३० । गत बर्ष घोषणा गरिएको गुरुङ सम्पदा मार्गको अध्ययन एवं प्रवर्द्धनका लागि  जनप्रतिनिधि तथा पर्यटन ब्यवसायीहरुको एक टोली पदयात्रामा निस्किएको छ ।

गुरुङ पर्यटन समिति पोखराको आयोजना र क्व्होलासोथर र मर्स्याङदी गाउँपालिकाको सहयोगमा गुरुङ सम्पदा पदमार्गको अध्ययन तथा प्रवर्द्धन कार्यक्रम शुरु भएको हो ।

लमजुङको घनपोखराबाट आइतबार शुरु भएको पदयात्रामा संविधान सभा सदस्य जमीन्द्रमान घले, राप्रपाका उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजंग गुरुङ, क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङ, मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, गुरुङ पर्यटन समितिका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ, पर्यटन ब्यवसायी बलराम सुयल लगायत सहभागी छन् ।


कास्कीको ताङतिङबाट सुरु हुने पदयात्रा कास्की र लमजुङका विभिन्न गुरुङ वस्तीहरु हुँदै नामुन भञ्ज्याङ हुँदै मनाङको तिमाङ पुगेर टुंगिन्छ । यो पदमार्ग ताङतिङबाहेक लमजुङका गिलुङ, सिङदी, पसगाउँ, घलेगाउँ, भुजुङ, घनपोखरा, सिउरुङ जुनसुकै स्थानबाट पनि शुरु गर्न सकिन्छ । यो पदमार्गकोे उच्च विन्दु भनेको ४९१० मिटरको उचाइमा रहेको नामुन भञ्ज्याङ (नामुन पास) हो । ४५८५ मिटरको उचाइमा रहेको धार्मिक कुण्ड दुधपोखरी यही पदमार्गमा पर्छ ।

गुरुङ समुदायको उद्गम थलो क्व्होलासोंथार सहित गुरुङ संस्कृतिले भरिपूर्ण गुरुङ वस्तीहरु छिचोल्ने भएकाले यस पदयात्रा मार्गको नाम गुरुङ सम्पदा मार्ग राखिएको हो । यो पदयात्राको महत्वपूर्ण पक्ष भनेकै यस क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा हुन् । प्रकृति र संस्कृतिमा आधारित घरबास (होमस्टे) सञ्चालन भएका गुरुङ गाउँहरुमा अझै जीवन्त रहेका सोरठी, घाँटु, कृष्ण चरित्र, जस्ता मौलिक र परम्परागत संस्कृति र गुरुङ जातिको भाषा, धर्म संस्कारको अध्ययनका लागि समेत पदमार्ग महत्वपूर्ण छ ।


सडक सञ्जालको विकाससंगै विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्ग लगायतका पर्यटकीय पदमार्गहरु छोटिदै र खुम्चिदैं गएको अवस्थामा त्यसको विकल्पको रुपमा गुरुङ सम्पदा मार्गको विकास गरिएको र यस पदमार्गले लमजुङ, कास्की र मनाङका ऐतिहासिक गुरुङ संस्कृतिको संरक्षणसंगै पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने क्व्होलासोंथार गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङ बताउँछन् ।

गुरुङ पर्यटन समितिका संस्थापक अध्यक्ष बोबरजंग गुरुङले पोखराबाट सिक्लेस–कपुचे–क्होलासोँथर–कर्पुडाँडा–याङ्जाकोट हुँदै पोखरा, क्होलासोँथरबाट घलेगाउँ–घनपोखरा–भुजुङ–पसगाउँ–ताप्रो हुँदै पोखरा, क्होलासोँथरबाट सिक्लेस हुँदै पोखरा र  मर्स्याङदी गाउँपालिकाबाट घनपोखरा–मैदु–थुर्जु–कोप्लेक खर्क–सिउरुङ–हर्सिङडाँडा हुँदै पोखरासम्मको पदमार्ग प्रवर्द्धन गरिने जानकारी दिए । 


लमजुङको घनपोखरा गाउँबाट साताब्यापी सोही पदयात्रामा निस्किएका संविधान सभाका सदस्य जमीन्द्रमान घलेले अध्ययन अवलोकन एबम प्रवध्र्दन अभियानले यस क्षेत्रको पर्यटन बिकासमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास ब्यक्त गरे ।

गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको संयोजन एवं नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र कास्कीको मादी गाउँपालिका, लमजुङको क्होलासोथर र मर्स्याङदी गाउँपालिकाका साथै मनाङको चामे गाउँपालिकाको सहयोगमा गत बर्ष पनि यस पदमार्गको स्थलगत अध्ययन अनुसन्धान गरिएको थियो । 

मनोरम प्राकृतिक दृष्यावलोकन, धार्मिक महत्वका पोखरी, ठूलाठूला खर्क र पाटनहरू रहेको यस पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खलालाई नजिकबाट अवलोकन गर्न सकिन्छ ।

यो पदमार्ग जैविक विविधताले पनि भरिपूर्ण रहेको छ । पहाडी, उच्च पहाडी र हिमाली क्षेत्र गरी तीनै तहको उचाइ र हावापानीमा पाइने यस क्षेत्रका बनस्पति, जीवजन्तु तथा चराचुरुंगीहरु यस पदमार्गका बिशेष आकर्षण हुन् । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने उच्च औषधीय गुणयुक्त यार्सागुम्बा, जटामसी, सतुवा, वन लसुन जस्ता जडिबुटीहरु यस पदमार्गमा पाइनुका साथै विभिन्न रंगका लाली गुराँस लगायतका लेकाली फूल र डाँफे, मुनाललगायतका चराचुरुङ्गीहरुको पदमार्गको थप आकर्षण हुने मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताए 

 यो पदमार्ग तीसको दशकसम्म कास्की र लमजुङका गुरुङ गाउँहरुले मनाङ भोटको नुन बोक्दा प्रयोग गर्ने गरेको बाटो हो । अझै पनि पदमार्गमा भेटिने लामा लामा विसौनी चौतारीहरु त्यही नुनको व्यापारिक मार्गको साक्षी छन् ।

प्रतिक्रिया