सुन्दरबजार, साउन १४ गते । लमजुङको सुन्दरबजार र तनहूँको भानु नगरपालिका जोड्न पाउँदीखोलामा निर्माणाधीन मोटरेबल पुल निर्माण नसकिँदै धरापमा परेको छ । बर्षाका कारण पुलको लमजुङतर्फको भागमा पहिरो खसेपछि पुलसंगै त्यहाँका केही घर धरापमा परेका छन् ।
स्थानीयले छत्रे पुल नाम दिएको यो मोटरेबल पुल गत असारदेखि नै अबिरल वर्षाका कारण धरापमा परेको हो । बर्षा जारी रहँदा लमजुङतर्फको भागमा पहिरो बढ्दै जाँदा पुलसंगै वस्ती र खेतीयोग्य जमीनमा समेत क्षति भएको छ ।
पूर्व प्रधानसेनापछि छत्रमान सिंह गुरुङको पहलमा निर्माण भएका कारण यो पुललाई छत्रे पुल भनिएको हो । पुल बन्नु अगाडि पुल बन्ने ठाउँको जमीनको अध्ययन नगरी हचुवाका भरमा पुल निर्माण थालिएकाले अहिले पुलसंगै वस्ती र खेतीयोग्य जमीन धरापमा परेको स्थानीयले बताएका छन् ।

उक्त पुलको लमजुङतर्फको भागमा पुलको मुखमै पहिरो खसेपछि सुन्दरबजार ७ निवासी स्थानीय मोहन सापकोटाको घर र धन्सार, शैलेन्द्र सापकोटाको घर र अन्य एक जना स्थानीयको घर समेत जोखिममा परेको छ । पहिरोले त्यहाँ रहेको ऐतिहासिक मझुवा चौतारो समेत आधा तानेको स्थानीय समाजसेवी एवं सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पहिरोले त्यहाँको सार्वजनिक र नीजि जग्गा समेत बगाउनुका साथै प्रस्तावित सुन्दरजार चक्रपथमा पनि मान्छे हिँडन नमिल्ने गरी क्षति पुगेको छ ।

सुन्दरबजार नगरपालिकावडा नंं ७ का वडा अध्यक्ष जयराम रेग्मीले पुल निर्माण गर्नु अघि राम्रो अध्ययन नहुँदा र निर्माणका क्रममा ढुंगा फुटाउने आदि काम गर्दा त्यहाँको धरातल थर्केर हल्लिएका कारण अहिले ठूलो पहिरो आई जोखिम बढेको बताए । पुलका कारण त्यहाँ पहिरो आई थुप्रै सार्वजनिक र नीजि जग्गा बगाउनुका साथै सडकमा समेत क्षति भई दीर्घकालीन समस्या उत्पन्न भएको बताउँदै वडाध्यक्ष रेग्मीले यसबारेमा आफूले सम्बन्धित निकायमा जानकारी गराएको तर ठोस काम हुन नसकेको जानकारी दिए ।

पहिरोले त्यहाँका तीनवटा घरमा जोखिम बढेपछि ठेकेदारले प्लाष्टिक ल्याएर छोपिदिए पनि केही हदसम्म जोखिम कम भए पनि ती घरमा बस्न सक्ने अवस्था नरहेको वडाध्यक्ष रेग्मीले बताए । उनले पहिरोले तानेको जमीनको एकीन नापजाँच नगरिए पनि करीब २ सय मिटर लामो पहिरो खसेको उनले जानकारी दिए । उनले पुलका कारण भएको क्षतिपूर्ति र सडकको मर्मत लागि वडा कार्यालय वा नगरपालिकाको बसमा नरहेकाले सम्बन्धित निकायमा जानकारी गराइएको बताए ।
१० दिन अघि पनि उक्त पुल हेर्ने पुल सेक्टर पोखराका प्रमुखसंग आफूले कुराकानी गरी सडकको मर्मत, पहिरोले जोखिममा परेका घरहरुको संरक्षण र यसका लागि लाग्ने खर्चको डिपिआर गरेर काम अघि बढाइ समस्या समाधान गरिदिन आग्रह गरेको र उताबाट केही दिनमै आएर छलफल गर्ने आश्वास दिइए पनि अहिलेसम्म कोही नआएको बताए ।
छत्रे मोटरेबल पुलले लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ७ र तनहुँको भानु नगरपालिका वडा नं. १० जोड्छ । गत असार ९ गते को भीषण बर्षापछि मझुवा फाँटमा रहेको सो पुलको सुन्दरबजारतर्फको भागमा पहिरो आई ठूलो क्षति पु¥याएको थियो । सो ठाउँमा दिनहूँको बर्षाले क्षति बढाउँदै लगेको स्थानीयले बताए ।
पुलको मुखमै गएको पहिरोले सुन्दरबजारको प्रसतावित रिंगरोड समेत बन्द भएको छ । सुन्दरबजार ७ को पाउँदी नजिकै सुकुम्बासी टोलबाट जाने सडक सुन्दरबजार–मानोचौका सडक अन्तर्गत पाउँदी पुल नजिकै गएर जोडिन्छ ।
खबरकुञ्ज