लमजुङ । राईनास नगरपालिकाको वडा नंं ८ हर्राबोटमा रहेको रुद्र माध्यमिक विद्यालयमा स्थानीय समाजसेवी बोधराज ओलिया र उहाँकी धर्मपत्नी कृष्णकुमारी ओलियाले १ लाख २०२ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनका लागि ओलिया दम्पतीले अक्षयकोष स्थापना गरेका हुन् । हालै बिधालयमा आयोजित एक समारोहबीच ओलिया दम्पतीले अक्षय कोषकाे रकम हस्तान्तरण गरेका हुन् ।
आफू साक्षर मात्र रहे पनि आफ्ना सन्तति र समाजका गरिब तथा जेहन्दार बालबालिकालाई पठन पाठनमा हौसला मिलाेस् भन्ने उद्देश्यले ओलिया दम्पतीले छात्रबृत्तिका लागि अक्षयकोष स्थापना गरेको बताएका छन् । समाजमा सबैलाई सदैव शिक्षित र ज्ञानी बन्नका लागि उत्प्रेरणा दिइरहने बाेधराज ओलिया अहिले उमेरले ९० बर्ष पुगेका छन् । बयोबृद्ध अवस्थामा पनि समाजको चिन्ता गरिरहने ओलियाले बिधालयमा गरिब तथा जेहेन्दार बाल बालिकाको लागि छात्रबृत्ति प्रदान गर्नका लागि स्थायी कोषको रुपमा अक्षयकोष राखिदिन छोराछोरीले दिएको सुझावलाई स्वीकार गर्दै आफूले विद्यालयमा अक्षयकोष स्थापना गरेको बताए ।
"हाम्रो सुझावलाई पिता माताजीले स्विकार गरेर पवित्र कर्म हाम्रो परिवारका तर्फबाट गर्न पाएकोमा अलिकति भने पनि बिधालयप्रतिको सामाजिक दायित्व पूरा गर्न सकियो कि भन्ने लागेको छ ।"– बोधराज कृष्णकुमारीका जेठा छोरा कृष्णराज ओलियाले बताए ।
अक्षयकोषका दाता ओलिया दम्पतीलाई राईनासका नगरप्रमुख खड्गबहादुर गुरुङले विद्यालयमा आयोजित एक समारोहबीच सम्मान समेत गरेका छन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा ओमकार योग आयुर्वेद गुरुकुल आश्रमका संस्थापक संयोजक आचार्य गोविन्द रेग्मीले अभिभावक शिक्षा सचेतना प्रशिक्षण दिएका थिए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक शिवशंकर नराल ,पूर्व प्रअ बाबुराम धिताल , वडा अध्यक्ष कृष्णबहादुर रानाभाट र परिवारका तर्फबाट कृष्णराज ओलियाले मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यालयका अभिभावक तथा स्थानीयबासीको उपस्थिति थियो ।
2 Jun 2023