बेसीशहर, पुस २४ । नेपाली कांग्रेस पार्टीका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते काठमाडौंमा आह्वान गरेको विशेष महाधिवेशमा लमजुङका २२ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् ।
संस्थापन पक्ष र बिशेष महाधिवेशन पक्षधर दुवैले बिशेष महाधिवेशनमा सहभागी हुन र नहुन आग्रह गरे पनि यस अघि बिशेष महाधिवशेन माग गर्दै हस्ताक्षर गर्नेहरूले महाधिवेशनमा सहभागिता जनाउने भएका हुन् । बिशेष महाधिवेशनकाे पक्ष बिपक्षमा लमजुङका कांग्रेस नेताहरु विभाजित छन् ।

बिशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि जिल्ला कार्य समितिका सचिव बिमल श्रेष्ठसहित, प्रदेश सभा क र ख का क्षेत्रीय कार्य समितिका सभापति, जिल्लाका ८ मध्ये ७ वटा पालिका सभापातिहरुले महाधिवेशन प्रसितनिधिहरुलाई आग्रह गरेका छन् ।
उनीहरुले महाधिवेशन प्रतिनिधिहरुलाई संयुक्त रुपमा अपील जारी गर्दै पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनीतिक चुनौतिबारे गम्भीर निर्णय लिने बिशेष अबसरमा सम्पुर्ण महाधिवेशन प्रतिनिधिहरुहरुको सक्रिय, जिम्मेवार र गरिमामय उपस्थिति अत्यावश्यक रहनु पर्ने भन्दै उक्त उपस्थितिले पार्टीको भविष्य र राष्ट्रको दिशानिर्देश गर्ने उल्लेख गरेका छन् ।
सचिव श्रेष्ठका साथै प्रदेश सभा क क्षेत्रीय सभापति दरजंग गुरुङ, प्रदेश सभा ख का सभापति रघुनाथ गुरुङ, बेसीशहर नगर सभापति शरणहरि जोशी, सुन्दरबजार नगर सभापति प्रकाश सेढाईँ, मध्यनेपाल नगरसभापति बसन्त घिमिरे, राईनास नगर सभापति श्रीकृष्ण पौडेल, मस्र्याङदी गाउँपालिका सभापति कृष्ण बहादुर गुरुङ, दूधपोखरी गाउँपालिका सभाापति मेघराज गुरुङ र क्व्होलसोथार गाउँ कार्यसमितिका सभापति पस बहादुर गुरुङले बिशेष महाधिवेशनको पक्षमा बिज्ञप्ती जारी गर्दै सक्रिय सहभागिताका लागि महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
लमजुङ जिल्लाबाट नेपाली कांग्रेसका २७ जना महाधिवेशन प्रतिनिधि रहेकामा एक जना महाधिवेशन प्रतिनिधि छुपीमाया गुरुङको निधन भएको छ । बाँकी २६ मध्ये २२ जना महाधिवेशन प्रतिनिधि बिशेष महाधिवेशनको पक्षमा छन् ।
जिल्ला पार्टी सभापति डा टकराज गुरुङ सहित पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, संविधान सभा सदस्य चन्द्र बहादुर कुँवर र नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापति तीर्थ थापाबाहेक सबै महाधिवेशन प्रतिनिधिले यस अघि नै बिशेष महाधिवेशनका लागि हस्ताक्षर गरिसकेका छन् ।
जिल्ला कार्य समितिका सचिव बिमल श्रेष्ठले यस अघि बिशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने सबै महाधिवेशन प्रतिनिधिहरु पुस २७ र २८ मा काठमाडाैंमा आयोजित बिशेष महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।
खबरकुञ्ज