निरन्तरको बर्षापछि आएकोे बाढी र पहिरोका कारण देशभर ६६ जनाको मृत्यु

खबरकुञ्ज

काठमाडौं, असोज १२ गते । असोज १० गतेदेख परेको निरन्तरको बर्षा र त्यसपछि आएकोे बाढी र पहिरोका कारण देशभर ६६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले मिति २०८१ आश्विन १० गते देखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण वाढी पहिरो र डुबानका घटनाहरुबाट हालसम्म ६६ जनाको मृत्यु, ६९ जना वेपत्ता र ६० जना घाईते भएका जानकारी दिएको हो ।


वाढी पहिरो र डुबानका काठमाडौं उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको छ यसैगरि काभ्रेमा १४ जना, पाँचथरमा ५ जना, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जना, धनकुटा र सोलुखुम्बुमा २–२ जना, सुनसरी र धादिङमा १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



तीनदिन देखि परेको अविरल बर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथर र सिन्धुपाल्चोकमा ५ जना तथा अन्य विभिन्न जिल्लासहित गरेर ६९ जना बेपत्ता भएका मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

मन्त्रालयका अनुसार बर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न भागमा सडक, पुल, सार्वजनिक सम्पति र व्यक्तिका निजी घर तथा आवासहरुमा क्षति पुगेको छ । 

काठमाडौं उपत्यकामा अहिले सम्मकै धेरै बर्षा मापन गरिएको छ । ललितपुरको चापागाउँमा पछिल्लो २४ घण्टाको अवधिमा ३२३ मिलिमिटर वर्षा मापन गरिएको छ ।  बर्षाका कारण उपत्यकाका बागमती, नख्खु लगायतका सबै नदीमा आएको बाढीले नदी किनारा, किनारामा रहेका सडकका साथै आसपासमा भएका संरचनामा समेत ठूलो क्षति पु¥याएको छ । 

जल तथा मौसम विज्ञान विभागले आश्विन १० गतेदेखि आश्विन १३ गतेसम्म चार दिन भारी एवम् अति भारी मनसुनी वर्षा हुने पूर्वानुमान गरे अनुसार गृह मन्त्रालय, मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत आश्विन १० गते आम सर्वसाधारणलाई सतर्क रहन, अति जरूरी अवस्थामा मात्र यात्रा गर्न, खोज तथा उद्धार र प्रतिकार्यको लागि सुरक्षा निकाय एवम् स्वयंसेवकहरुलाई तयारी अवस्थामा रहन सुचित गरेको थियो । 


साथै सम्भावित सडक दुर्घटनालाई न्यूनीकरण गर्न आश्विन ११ गतेदेखि सडकको अवस्था सहज नभएसम्म काठमाण्डौ उपत्यकावाट बाहिरिने रात्रीकालीन सवारी साधनलाई रोक लगाईएको थियो भने विभिन्न सडकखण्डहरुको अवस्था अद्यावधिक गरी जानकारी गराउनुका साथै स्थानीय प्रशासनबाट मौसमको अवस्थालाई मध्यनजर गरी अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न अनुरोध गरिएको थियो ।



प्रतिक्रिया