गाउँशहरकाे महायज्ञमा दानवीरहरू बढ्दै, ४२ लाख बढी दान संकलन

खबरकुञ्ज

बेसीशहर, मंसिर ८ । ऐतिहासिक लमजुङ दरबार परिसरमा गत मंसिर २ गतेदेखि जारी श्रीमद्भागवत महापुराण, ज्ञान महायज्ञ समापनतर्फ गइँरहँदा भक्तजनको आगमन र दान रकम बढ्दै गएको छ ।

महापुराण अन्तर्गत सोमबार सर्वाधिक दान रकम झण्डै १३ लाख रुपैयाँ संकलन भएको आयोजक समितिले जानकारी दिएको छ । आइतबार सम्म २९ लाख ४९ हजार रुपैयाँ दान संकलन भएकोमा सोमबार थप १३ लाख रुपैयाँ थप हुँदा अहिलेसम्म कूल ४२ लाख ४४ हजार रुपैयाँ संकलन भएको प्रचार प्रसार संयोजक राजेन्द्र बोहराले जानकारी दिए ।

महायज्ञको पहिलो दिन २८ हजार ४२०, दोस्रोदिन १ लाख २६ हजार १२५, तेस्रोदिन २ लाख ४१ हजार  ६९२,  चौंथो  दिन २ लाख ५१ हजार ६१० र पाँचौं दिन ११,२०,१३९ रुपैयाँ दान संकलन भएको थियो ।

लमजुङ कालिका मन्दिरमा दैनिक पूजा अर्चनाका लागि नियमित रुपमा पुजारी व्यवस्थापन, धर्मशाला निर्माणका साथै मन्दिर क्षेत्रको विकासमा काम गर्ने उद्देश्यका साथ महायज्ञको आयोजना गरिएको हो  । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वको ठाउँ भएर पनि उचित ब्यवस्थापन, प्रसार प्रसार र विकासको दृष्टिकोणले पछि पर्दा गाउँशहरको ऐतिहासिक र धार्मिक महत्व संकुचित भएको महशुस गरी यसको समग्र विकासका लागि महायज्ञ सञ्चालन गरिएको महायज्ञ मूल समारोह समितिका अध्यक्ष महेश भुजेलले बताए ।

 महायज्ञ बुधबारसम्म सञ्चालन हुने छ । महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले देवलीलाको नाटकसहित भागवत कथा बाचन गरिरहेका छन् ।

महायज्ञमा प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म श्रीमदभागवत सतचण्डी, वेदपाठ गरिएको छ । यसबाहेक रुद्राभिषेक, सहस्र जलधार, वेलपत्र अर्पण, ग्रहशान्ति पुजा, पितृ तर्पण, आरती लगायतका अनुष्ठान नियमित रुपमा भइरहेका छन् । दिउसो १० देखि ४ बजेसम्म भागवत कथा वाचन र बेलुका ७ बजेदेखि १० बजेसम्म भजन कीर्तन, भागवत महात्मयसहित कथाबाचनको कार्यक्रम जारी रहेको छ ।

गाउँशहर कालिका मन्दिर ब्यवस्थापन तथा संरक्षण समितिको आयोजना र बेसीशहर नगरपालिका वडा नं ३ को कार्यालयको संरक्षकत्वमा महायज्ञ आयोजना गरिएको हो ।

प्रतिक्रिया