बेसीशहर, मंसिर १ । लमजुङको ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय र साँस्कृतिक केन्द्र गाउँशहरमा मंगलबारबाट श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ शुरु हुँदैछ । महायज्ञको तयारी पुरा भएको छ ।
लमजुङको प्रमुख र नेपालकै धार्मिक आस्थाको केन्द्र रहे पनि ओझेलमा परेको यो क्षेत्रको विकासका लागि नागरिक स्तरबाट योगदान पुर्याउने जमर्को स्वरुप स्थानीय बासीन्दाको पहलमा श्रीमद् भागवत महापुराण धार्मिक अनुष्ठानको आयोजना गरिएको हो । महायज्ञबाट संकलन हुने दानबाट लमजुङ कालिका मन्दिरमा धार्मिक जागरण र क्षेत्र विकास समितिको कोष स्थापना गरिने छ । लमजुङ कालिका मन्दिरको धार्मिक आस्था बृद्धि गर्न कोष स्थापना गर्ने र कोषबाट मन्दिरमा दैनिक पुजारी, विश्राम स्थल, स्नान कक्ष, सदवहार फुलवारी, भक्तजन आवास कक्ष साथै गौशाला निर्माण र पर्यावरणको संरक्षण र विकासमा जोड दिने उद्देश्य छ ।
मंसीर २ गतेदेखि १० गतेसम्म चल्ने ज्ञान महायज्ञमा पण्डित दीपक प्रसाद पौडेलको मुखारबिन्दुवाट संगीतमय श्रीमद्भागवत कथा वाचन हुनेछ । महायज्ञमा विविध धार्मिक र जनचेतनामूलक सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत हुनेछन् ।
गाँउशहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा हुने सो धार्मिक महोत्सव लमजुङ कालिका मन्दिर परिसर, गाँउशहरमा हुनेछ । लमजुङ दरबार र कालिका मन्दिर नै नेपालको शासन प्रणाली, सैनिक परम्परा र सांस्कृतिक विकासको आधारशिला भएकोले महायज्ञले यसको थप पहिचान हुने अपेक्षा गरिएको छ ।
आयोजक समितिका सञ्चार तथा प्रचार प्रसार समितिका संयोजक राजेन्द्र बोहराले मन्दिर क्षेत्र र गाँउशहरको धार्मिक, सांस्कृतिक, भौतिक र पर्यावरणीय विकासका लागि कोष स्थापना गरी गाउँशहर क्षेत्रको दीर्घकालीन विकासमा सहयोग पुर्याउने महायज्ञको मुख्य उद्देश्य रहेको बताए । महायज्ञबाट लमजुङ कालिका मन्दिर र गाँउशहरको ऐतिहासिक धार्मिक र प्रकृतिक महत्वलाई प्रसार प्रसार गर्न धार्मिक अभियान मार्फत सामाजिक रीतिरिवाज, चालचलनको संरक्षण र प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
ज्ञान महायज्ञमा संगीतमय श्रीमद् भागवत कथा वाचनका साथै भागवत सम्बन्धी देवलीला, भजन, नृत्य, जनचेतनामूलक नाटक, पितृतर्पण, अन्नदान, तुलादान, चौरासी पूजा, गृहशान्ति पूजा लगायत विविध धार्मिक क्रियाकलाप समेत सञ्चालन गरिने छ ।
महायज्ञको कार्यक्रम अनुसार बाला चतुर्दशीको लमजुङ कालिका मन्दिर र आसपासका मन्दिर र महायज्ञ स्थमा सतविज छर्ने सकिनेछ । महायज्ञमा ग्रह शान्ति पूजा, चौराशी पूजा, अन्नदान, भुमिदान, ब्राह्मण भोजन सहित पितृको फोटो राखी पितृ तर्पण, तुलादान, विवाह, ब्रतवन्ध गुन्योचोली, विवहात्सोव, जन्मोत्सव मनाउने जस्ता कार्य समेत गर्न सकिने आयोजक समितिले जनाएको छ ।
धार्मिक महोत्सवकै अवसरमा महोत्सवसंगै जोडेर समुदायमा आधारीत होमस्टे व्यवस्थापन गोष्ठी, गुणस्तरीय सार्वजानिक शिक्षा सम्वन्धी परीसम्बाद र लमजुङ कालिका मन्दिर र गाँउशहर क्षेत्र विकास योजना तर्जुमा सम्वन्धी गोष्ठी गरिने छ ।
यस धार्मिक अुनष्ठान सफल पार्न गाउँशहर कालिका मन्दिर संरक्षण तथा ब्यवस्थापन समितिका अध्यक्ष महेश भुजेलको संयोजकत्वमा १००१ सदस्यीय मूल आयोजक समिति र विभिन्न उपसमितिहरुको गठन गरिएको छ ।
आयोजक समितिका संयोजक महेश भुजेलले देश–विदेशमा रहेका लमजुङवासी, समाजसेवी, बुद्धिजीवी र श्रद्धालु भक्तजनहरूलाई सहभागिता जनाउन र लमजुङ कालिका मन्दिर तथा गाँउशहर क्षेत्र विकास अभियानमा जोडिन आग्रह गर्नु भएको छ ।
नेपालको धार्मिक, ऐतिहासिक र सांस्कृतिक धरोहरको संरक्षणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०८२ केवल धार्मिक कार्यक्रम मात्र नभई लमजुङ र नेपालको गौरवमयी इतिहास पुनर्जीवित गर्ने सामूहिक अभियान रहेको आयोजकको भनाई छ ।
लमजुङ कालिका भगवती शक्तिपीठ नेपालको इतिहास र स्वाभिमानसँग जोडिएकोले यसलाई संरक्षण र प्रवद्र्धन गर्नु सबैको दायित्य भएकोले महायज्ञलाई सफल पार्न आयोजकले सबैलाई अनुरोध गरेको छ ।
खबरकुञ्ज