मध्यनेपाल नगरपालिकाको वडा नंं ७ मा परम्परागत कुवा र पँधेराकाे पुननिर्माण गरिएकाे छ ।
मध्यनेपालको वडा नंं ७ मा पर्ने रामबजार, खहरे एबं अम्र्याङ्गका बासीन्दाले परम्परागत रूपमा उपभोग गर्दै आएको भिरवारी पँधेराे र पैरावन स्थित समीको रूख मुन्तिर रहेको पुरानो कुवा जीर्ण भइ खानेपानी समेत सुक्दै गएकोमा वडा कार्यालयको सहयाेगमा पुननिर्माण गरिएकाे हो ।
पुनर्निर्माणका लागि मध्यनेपाल नगरपालिकाको वडा नंं ७ ले बजेटको ब्यवस्था मिलाएको थियो ।पँधेराेका लागि ९० हजार र कुवाका लागि १ लाख १० हजार बजेट बिनियाेजन भएकामा स्थानीय स्थानीय जनसहभागिता समेत परिचालन गरी ती कुवा र पँधेराकाे पुनर्निर्माण गरिएको हो ।
स्थानीय बासीन्दाका अनुसार भीरबारी पँधेरामा जाडोमा तातो र गर्मीमा चिसो पानी आउँछ । पानी पनि मीठो छ । परम्परादेखि पर्खाहरूले प्रयोग गर्दै आएको यो पँधेरो गाउँ गाउँ र घरघरमा पानीका धारा जडान गरिएसंगै जीर्ण भएको थियो ।
मध्यनेपाल वडा नंं ७ ले वडाको पैरावन स्थित समीको रूख मुन्तिर रहेको पुरानो कुवाको पनि पुनर्निर्माण गरेको छ । परापूर्व कालदेखि स्थानीय बासीन्दाले उपभोग गर्दै आएको कुवा लामो समय देखी संरक्षणको पर्खाइमा थियो । उक्त कुवालाइ वडाध्यक्ष हिरा गुरूङको पहलमा पुननिर्माण गरिएको हो । यसका लागि वडा कार्यालयले १ लाख १० हजार रूपैयाँ बजेट समेत उपलब्ध गराएको वडा अध्यक्ष हिरा गुरूङले जानकारी दिए ।
मध्यनेपाल ७ का वडाध्यक्ष गुरूङ भन्छन्- "परम्परादेखि स्थानीयले उपभोग गर्दै आएका खानेपानीका पँधेरा, कुवा, पाटी पौवाहरू संरक्षण गर्नु हाम्रो कर्तब्य हो, त्यही कर्तब्य निर्वाह गरेका हौं । वडाको सीमित श्रोतले पर्यप्त बजेट दिन नसके पनि स्थानीय बासीन्दाले हाम्रो होस्टेमा हैंसे गर्नु भएको छ। श्रमदान गरेर पनि योजनाहरू सम्पन्न गर्नु भएको छ ।"
वडाध्यक्ष गुरूङका अनुसार भीरबारी पँधेरामा वडाले ९० हजार बजेट उपलब्ध गराएकामा स्थानीय जनसहभागितामा ३ लाख रूपैयाँ भन्दा बढीको काम भएको छ । त्यस्तै पैरावनको कुवाका लागि १ लाख १० हजार बजेट वडाले दिएकामा जनसहभागितामा ५ लाख बढीको काम भएको छ । उनले भने- "वडाबासी आमा बुबा, दाजुभाइ दिदीबहिनीहरू धन्यवादको पात्र हुनुहुन्छ, हाम्रो सानो सहयाेगमा पनि यति धेरै काम गर्नुभयो । यसरी नै वडाको विकासमा हातेमालो गरिदिनु भयो भने वडामा धेरै काम गर्न सकिन्छ ।"
मध्यनेपाल ७ का स्थानीयका अनुसार परम्परादेखि प्रयोगमा आइ स्थानीयलाइ खानेपानी उपलब्ध गराउँदै आएका यी कुवा र पँधेराले अहिले पनि स्थानीयलाइ खानेपानीको अभाव हुन दिएका छैनन् । घरमा खानेपानी नआउँदा त्यहाँका बासीन्दा अझै पनि यिनै कुवा र पँधेरामा खानेपानी लिन जान्छन् । यसबाहेक लुगा धुन नुहाउन पनि पँधेरो, कुवा प्रयोग हुँदै आएका छन् ।
वडाभित्र परम्परादेखि प्रयोगमा आएका पँधेरा र कुवाको संरक्षणमा वडा कार्यालयले थालेको काममा राम्रो जनसहभागिता जुटेको छ । लामो समयदेखि संरक्षण र सम्बर्धनको पर्खाइमा रहेका कुवा र पँधेरा वडा कार्यालयको पहलमा पुनिर्माण गरी चिटिक्क भएपछि स्थानीय समेत निकै खुशी भएका छन् ।
22 Jun 2023