मानव सेवा आश्रमको भवन निर्माणका लागि एनसेलले दियाे १० लाख रुपैयाँ

खबरकुञ्ज

बेसीशहर, माघ ६ गते । दूर सञ्चार कम्पनी एनसेल एक्जिएटा लिमिटेड नेपालले मानव सेवा आश्रम लमजुङको भवन निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।

उक्त कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आइतबार आश्रमको निर्माणधीन भवनका लागि एनसेल फाउण्डेशन मार्फत १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । मानव सेवा आश्रम लमजुङमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका कर्पोरेट एण्ड रेगुलारिटी अफिसर डिल्लीराम श्रेष्ठले सो चेक सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, भवन निर्माण समितिका संयोजक मोहन बहादुर थापा र आश्रमका संयोजक अनिता अधिकारीलाई संयुक्त रुपमा  हस्तान्तरण गरेका हुन् ।

एनसेलले आश्रमको एक कोठा निर्माणका लागि उक्त सहयोग गरेको हो । हाल बेसीशहर नगरपालिकाको वडा नंं ७ हाइस्कूल चोकमा भाडाको घरमा मानव सेवा आश्रम सञ्चालित छ । आश्रमले बेसीशहरकै वडा नंं ९ पाखाथोकमा आश्रमको भवन निर्माण गरिरहेकोमा सोही भवनको एक कोठा निर्माणका लागि एनसेलले सहयोग गरेको बताइएको छ ।

आश्रमका संयोजक अनिता अधिकारीले आश्रमको निर्माणाधीन भवनका लागि १० लाख रुपैयाँ सहयोग गर्नेको नाममा आश्रममा एक कोठा निर्माण गरिने कार्यक्रम अनुसार एनसेलको नाममा पनि एक कोठा निर्माण हुने जानकारी दिइन् ।

सो अवसरमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले दुःखमा परेका मानिसहरुको सेवा भन्दा अरु ठूलो सेवा नभएको बताए । घर परिवार, समाजबाट अपहेलित भएका, मानसिक रुपले विक्षिप्त भएका तथा अनाथ र असाहयहरुको सेवामा आश्रमले धेरै काम गरी कतिपयलाई पारिवारिका पुनर्मिलन समेत गराएको स्मरण गरे । चेक हस्तान्तरण कार्यक्रम पछि मन्त्री गुरुङसहित एनसेलका प्रतिनिधि तथा अन्य आगन्तुक अतिथिहरुले आश्रमको निर्माणाधीन भवनको अवलोकन गरी भौतिक प्रगतिबारे जानकारी लिएका थिए ।

आश्रमले भवन निर्माणका लागि श्रीमद्भागत महायज्ञ आयोजना गरी करीब १ करोड रुपैयाँ संकलन गरेको थियो । यस अघि लमजुङको बाल सपना समाजले आश्रमका लागि पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि बेंसीशहर नगरपालिका ९, पाखाथोकमा मानवसेवा आश्रमको भवन निर्माण भइरहेको छ । 

भवनका लागि गण्डकी प्रदेश सरकार, बिभिन्न सरकारी तथा गैरसरकारी संस्था, स्थानीय  निकाय र ब्यक्तिहरुले समेत सहयोग गरेका छन् ।

मानव सेवा आश्रम लमजुङमा हाल २४ जना असाहयहरु आश्रित छन् ।


प्रतिक्रिया