नेकपाबाट लमजुङमा हरिजङ तामाङ प्रतिनिधिसभा सदस्य उमेदवार

खबरकुञ्ज

बेसीशहर, माघ ५ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि लमजुङमा नेपाली कम्युनिस्ट पार्टीबाट युवा नेता हरिजङ् तामाङ उमेदवार बन्ने भएका छन् । 

नेकपाले पार्टीको तर्फबाट लमजुङमा राम्रो छवि बनाएका युवा नेता तामाङलाई प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनाएको हो । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार उनलाई टिकट दिएका हुन् ।

सामाजिक क्षेत्रमा राम्रो काम गरेका तामाङ लमजुङमा शालीन र बौद्धिक नेताको रुपमा चिनिन्छन् । आदिवासी जनजाति जिल्ला समन्वय परिषद लमजुङको अध्यक्ष, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशको अध्यक्ष, प्रदेश अस्पताल लमजुङको अध्यक्ष भइ उनले सामाजिक क्षेत्रको कुशल नेतृत्व गरिसकेका छन् । कानुनको स्नातक रहेका उनी पिएडी स्कोलर पनि हुन् ।

गत २०७९ को स्थानीय निर्वाचनमा हरिजङ तामाङ बेसीशहर नगरपालिकाको उपप्रमुख उमेदवार बनेका थिए । नेपाली कांग्रेस र एकीकृत समाजवादी लगायतका दलसंग गठबन्धन गरेको माओवादी केन्द्रको तर्फबाट उपमेयर पदमा प्रत्यासी रहेका उनले पराजय ब्यहोरेका थिए ।

यस अघि नेकपाले लमजुङबाट देवप्रसाद गुरुङलाई उमेदवार बनाउने चर्चा थियो । तर गुरुङले उमेदवार बन्न अनिच्छा गरेपछि उनको ठाउँमा तामाङलाई ल्याइएको चर्चा छ । देव गुरुङ मनाङबाट उमेदवार बन्ने सम्भावना रहेको भनिएकोमा त्यहाँ उनकी श्रीमति यशोदा सुवेदी गुरुङ उमेदवार बन्ने भएकी छन् ।

प्रतिक्रिया