ईमान्दार अटो चालक, जसले अटोमा भेटिएको डेढलाख फिर्ता गरे

खबरकुञ्ज

बेसीशहर, असोज ६ गते । कसैले आफूले भेटेको पैसा कसको हो भनि पैसा हराउने मान्छेलाई खोज्दै हिँडेको सुन्नुभएको छ ? अरुको पैसा पाउनका लागि जे पनि गर्ने, उस्तै परे ज्यानै लिने, अंगभंग गरिदिनेसम्मका घटना भएकाे सुनेका हामीहरुका लागि अरुले छोडेको वा हराएको पैसा हराउनेलाई खोजेर फिर्ता गरेको सुन्दा अचम्म पनि लाग्न सक्छ ।

लमजुङको बेसीशहरमा एक यात्रुले अटोमा छोडेको डेढलाख रुपैयाँ भेटेर अटो चालकले पैसा हराउने ब्यक्तिलाई खोजेर पैसा बुझाई समाजमा इमान्दारिता अझै बाँकी छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । हिजो आज इमान्दारीताको खडेरी छ । अझ पैसाको कुरामा त इमान्दारी त छँदै छैन भन्दा फरक नपर्ला । एकछिन काम चलाउन भनेर दिएको सापटी रकम नतिरेर बर्षौं झुलाएको भन्दै बद्री पंगेनीले गीतै लेखे पैसा सापटी शिर्षकमा । केही महिनाका लागि ऋण लिएर साँवा ब्याज नतिर्ने पनि उत्तिकै छन् । माग्न जाँदा उल्टै हप्काइ दप्काइ पठाउनेको बिगविगी छ । 

पैसा दिएर माग्न जाँदा कुटाइ खाएको र सापटी नदिँदा ज्यानै गुमाएको खबर पनि सुनिन्छन् । पैसाका लागि कुटपिटदेखि ज्यानै लिने हर्कत गर्न पनि मान्छेहरु पछि पर्दैनन् । 

कसैले छोडेको वा हराएको पैसा पाउने मान्छेले हराउनेलाई खोज्दै पैसा फिर्ता गरेको सुन्दा विश्वास कमैलाई मात्र हुन्छ । तर सबै मान्छे खराब हुँदैनन्, अझै पनि केही मान्छेमा इमान्दारीता बाँकी छ भन्ने उदाहरण बन्ने ती अटो चालक हुन्– बेसीशहरको फूलबारी निवासी रामबाबु आलेमगर । जसले आफूले भेटेको डेढलाख रुपैयाँ फिर्ता गर्न हराउने मान्छे खोज्न नै निस्किए ।


कुरो आइतबार बिहान करीब १० बजेतिरको हो । मर्स्याङदी गाउँपालिकाको वडा नंं ९ सिम्पानीका डिलबहादुर वि.क बेसीशहरको प्रभु बैंकबाट पैसा निकालेर बैंकचोकतर्फ जाँदै थिए । बाटेमा उनले ग प्र ०४ ००१ ह ०३२८ नम्बरको अटोरिक्सा भेटे र त्यसैमा चढे । बेसीशहरको घलेगाउँ चोक भन्दा केही पर अटोबाट ओर्लेका उनले आफूसंग भएको डेढलाख रुपैयाँ भने अटोमै विर्सिएर छोडेछन् ।

अटोबाट झर्दा उनलाई पैसा छुटेको ख्याल नै भएन । उनी आफ्नो काममा लागे । अटोचालक रामबाबु पनि भाडा लिएर यात्रुका लागि क्यू थाप्न शेरामा फर्किए । शेराबाट पुनः एकजना महिला यात्रु लिएर उनी घलेगाउँ चोक पुगे । त्यहाँ यात्रु ओरालेर पुनः शेरामा फर्किएका उनले अटोमा फाइबरको रातो झोला देखे । झोलाभित्र १ हजार र ५ सयको दुई मुठा पैसा देखेपछि उनी झसंग भए ।

केहीबेर अघि अटोमा चढेकी तिनै महिलाको पैसा छोडिएको होला, हरायो भनि सुर्ता मानिरहेकी होलिन् भन्ने सोची उनी पैसा बुझाउन अघि ती महिला पसेको घरनेर पुगे । त्यहीँनेर यात्रु कुरेर बसेका अटो नजिकै मान्छेहरुको भीड जम्मा भएको थियो । अटोमा पैसाको झोला छोडियो भन्दै अघि रामबाबुकै अटोमा चढेर ओर्लिएका डिलबहादुर अटो चालकहरुसंग कुरा गर्दै गरेको उनले देखे ।


रामबाबुले भने अटोमा छोडिएको पैसा ती महिला यात्रुको होला भन्ने लागेको थियो । तर उनी भन्दा पनि अघिल्लो यात्रुले छोडेको थाह भए पछि उनले पैसा आफूसंग रहेको भन्दै झोलाको पैसा डिलबहादुरलाई दिन खोजे । तर पैसा अटोमा छोडिएको खबर उनले प्रहरीलाई दिइसकेका थिए । त्यसैले रामबाबु प्रहरीमा पुगे र प्रहरीको रोहबरमा डिलबहादुरलाई पैसा बुझाए ।

प्रतिक्रिया