बेसीशहर, माघ १० । त्रिभुवन विश्वविद्यालयकाे आंगिक क्याम्पसकाे रूपमा रहेकाे लमजुङकाे सुन्दरबजार नगरपालिका वडा नं ७ मा रहेकाे लमजुङ कृषि क्याम्पसले स्थानीयकाे काेटा हटाएकाे बिषयमा लमजुङका राजनीतिक दलका नेताहरूले विराेध जनाएका छन् ।
कृषि बिषयमा स्नातक तहकाे अध्यापन हुने साे क्याम्पसमा विगत २०७४/०७५ देखि नै स्थानीय सुन्दरबजार क्षेत्रका १ जना र लमजुङ जिल्लाभित्रका २ जना गरी तीन जनाका लागि क्याम्पसमा अध्ययनका लागि काेटा निर्धारण हुने गरेकाेमा २०८०/२०८१ देखि विद्यार्थी भर्नामा स्थानीय जिल्लाकाे काेटाबापत प्राप्त २ सीट खारेज गरिएकाे बिषयमा राजनीतिक दलका नेताहरूले बिराेध गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालय डीनकाे कार्यालयले उक्त काेटा हटाएर प्रदेश काेटामा कायम गरिएकाे भन्ने सूचना पाएपछि लमजुङका राजनीतिक दलका नेताहरूले विराेधस्वरूप र उक्त निर्णयकाे पुनर्विचार गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरूले क्याम्पस प्रमुख डा. नारायण न्याैपानेलाइ भेट गरी ध्यानाकर्षण पत्र समेत दिएका छन् । साे ध्यानाकर्षण पत्रमा नेपाली कांग्रेस लमजुङका सभापति डा टकराज गुरूङ, नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेकपा माओवादी केन्द्रका कार्यालय सचिव हरिजंग तामाङ, राप्रपा लमजुङका उपाध्यक्ष ठाकुरप्रसाद गुरूङ र एकीकृत समाजवादी लमजुङका उपाध्यक्ष माेहनबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
खबरकुञ्ज