जनविकासकाे विवादः नगरपालिकाकाे निर्णय कार्यान्वयन नगर्न उच्न्च अदालतकाे आदेश

खबरकुञ्ज

बेसीशहर, भदाै ४ गते । लमजुङ सदरमुकाम बेसीशहरमा रहेको जनविकास माविको प्रधानाध्यापकको सरुवा विवादमा उच्च अदालत पोखराले बेसीशहर नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

बेसीशहर नगरपालिकाको गत साउन २ गतेको वैठकले जनविकास मावि बेसीशहरका प्रधानाध्यापक एकदेव घिमिरेलाई यशोब्रह्म मावि बाहुनबेसीमा काज सरुवा गर्दै सहायक प्रधानाध्यापक विरेन्द्र रिमाललाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिने निणर्य गरेको  थियो । सोही अनुसार नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले साउन ३ गते घिमिरेलाई काज सरुवा गरेको पत्र पठाएको थियो ।

नगरपालिकाको यस निणर्यको जानकारी प्रधानाध्यापक घिमिरे र विद्यालयलाई दिँदै २१ दिनभित्र रमना पत्र लिएर सुरुवा गराइएको विद्यालयमा हाजिर हुन जान निर्देशन गरे पनि घिमिरेले रमना लिएका थिएनन् । प्रधानाध्यापक घिमिरे मावि द्वितीय श्रेणीका शिक्षक हुन् । उनलाई सरुवा गराइएको विद्यालय प्रस्तावित मावि हो र त्यहाँ मावि तहका शिक्षकको दरबन्दी नै नभएकाले उनी त्यहाँ जान मानेका थिएनन् । यसबाहेक नगरपालिकाले उनलाई कारबाहीे गरेझैं गरी सजायस्वरुप दरबन्दी नै नभएको विद्यालयमा सरुवा गरेपछि उनी अदालत पुगेका हुन् ।

उनको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पोखराले साउन २८ गते नगर शिक्षा, युवा तथा खेलकुद शाखाको साउन ३ गतेको पत्र तत्कालका लागि कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश जारी गरेको हो । उच्च अदालत पोखराका न्यायाधीश मिलन कुमार राईको इजलाशले विपक्षी बेसीशहर नगरपालिकालाई निवेदकको माग बमोजिमको आदेश जारी गर्न नपर्ने कुनै कानुनसम्मत आधार र कारण भए खुलाइ १५ दिनभित्र लिखित जवाफ पेश गर्न परमादेश जारी गर्दै यही भदौ ५ गते अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।


यसअघि नेपाल शिक्षक संघलेसमेत नगरपालिकाको यो कदमको विरोध गरेको थियो । नेपाल शिक्षक संघ लमजुङको एक प्रतिनिधि मण्डलले नगरपालिकाले संघीय शिक्षा ऐनको विपरित गलत निणर्य गरी प्रअ घिमिरेमाथि दुराग्रह राखी सरुवा गरेको भन्दै बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याललाई भेटी विरोध जनायोे । तर नगरप्रमुख अर्यालले नगर शिक्षा नियमावली २०७४ को नियम ५९ अनुसार सरुवा गरेको दावी गर्दै अन्याय भएको महशुस भए अदालत जान सक्ने प्रतिक्रिया दिएपछि प्रअ घिमिरेले नगरपालिकाको निणर्य विरुद्ध उच्च अदालत पोखरामा रिट दिएका थिए ।

उनले आफूलाई शिक्षा ऐन र नियमावली विपरित सरुवा गरिएको, मेयरले आफूलाई हटाएर मर्यादाक्रम मिच्दै आफ्नो मान्छेलाई प्रअ बनाउन खोजेको र सरुवा गरिएको विद्यालयमा समेत मावि शिक्षकको दरबन्दी नभएकोले आफू हाजिर हुन नगएको बताए ।यता नेपाल शिक्षक संघले बेसीशहर नगर पालिकाले राजनैतिक पुर्वाग्रह राख्दै प्रधानाध्यापक एकदेव घिमिरे प्रति अन्यायपूणर् व्यबहार गरेको दावी गरेको छ । मावि द्वितीय श्रेणीका प्रअलाई हटाएर विद्यालयमा ५ औं बरियतामा रहेका मावि तृतीय श्रेणीका शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरिएकोमा नेपाल शिक्षक संघले आपत्ती जनाएको छ ।

घिमिरे एक बर्षअघि प्रअ नियुक्त भएका हुन् । उनी नेपाली कांग्रेस निकटको नेपाल शिक्षक संघमा आवद्ध छन् र संघको बेसीशहर नगर अध्यक्ष पनि हुन् । नगरपालिकाले प्रअ नियुक्त गरेका रिमाल भने नेकपा एमाले निकटको शिक्षक संगठनमा आवद्ध छन् र उनी पनि संगठनको बेसीशहर नगर अध्यक्ष हुन् । बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले आफ्नो पार्टीका ब्यक्तिलाई विधि, विधान पद्धति र नियम विपरित प्रअ नियुक्त गरेको आरोप शिक्षक संघको छ ।

बेसीशहर नगरपालिकाका मेयर अर्यालले भने सदरमुकामको विद्यालय भएर पनि शैक्षिक गुणस्तर नभएको, एसइइमा थोरै मात्र विद्यार्थी उत्तीणर् गराउन सफल भएको भन्दै प्रअको कार्यदक्षतामा प्रश्न उठाएका छन् । उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई जोड दिए पनि नयाँ बनाइएका प्रअले शैक्षिक गुणस्तर सुधार गर्न सक्ने आधार प्रस्तुत गर्न नसकेका सरोकारवालाले बताउँछन् ।

हाल नगरपालिकाबाट निमित्त प्रअ नियुक्त गरिएका रिमाल भन्दा माथिल्लो बरियतामा चार जना शिक्षक छन् । हालका प्रअ एकदेव घिमिरे, दीपक खनिया, जीतबहादुर कोईराला र नमिता घिमिरे पछि मात्र विरेन्द्र रिमालको बरियता रहे पनि राजनीतिक निकटताको आधारमा उनलाई प्रअ नियुक्त गरिएको भन्दै आलोचना भएको छ । यता प्रअको सरुवासंग बिद्यालय ब्यवस्थापन समिति गठनको बिषयसमेत जोडिएको बताइन्छ । नगरप्रमुख अर्यालले जनविकास माविको ब्यवस्थापन समितिको अध्यक्षमा त्यहीँका पूर्व प्रधानाध्यापक बुद्धिसागर बराललाई नियुक्त गर्न चाहेका थिए । तर नगरप्रमुखको चाहना अनुसार प्रअ घिमिरेले बराललाई अध्यक्ष बनाउने कार्यमा साथ नदिए पछि उनीमाथि पूर्वाग्रह राख्दै सरुवा गराइएको बेसीशहरमा हल्ला छ ।

प्रतिक्रिया