रमणीय पसगाउँमा १५ औं पसगाउँ महोत्सवकाे तयारी

खबरकुञ्ज

बेसीशहर, फागुन ९ । लमजुङको उत्तर पश्चिममा रहेको रमणीय गुरुङगाउँ पसगाउँमा यही फागुन १८ र १९ गते १५ औं पसगाउँ महोत्सव हुने भएको छ ।

दुई दशक अघिदेखि ग्रामीण पर्यटनको यात्रा तय गरेको पासगाउँले यस बर्ष पनि भब्य रुपमा १५ औं पसगाउँ महोत्सवको तयारी गरेको हो । महोत्सवको माध्यमबाट पसगाउँको प्रकृति, कला, संस्कृति र भेषभुषाको प्रचार प्रसार गरी पसगाउँलाई देश विदेशमा चिनाउन महोत्सव गर्न लागिएको हो ।

ग्रामीण पर्यटनको माध्यमले गाउँमा पर्यटकहरुको आगमन बढाई स्थानीयको आर्थिक एवं सामाजिक स्तर उकास्नका लागि क्व्होलसोंथार गाउँपालिका लमजुङको सहयोगमा महोत्सव आयोजना गरिएको हो ।

महोत्सवको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले उद्घाटन गर्दैछन् । 

महोत्सवमा स्थानीय सांस्कृति झल्कने आमा समूहको नाच, कृष्ण चरित्र नाच, घाँटु नाँच, सारङ्गी नाँच लगायत परम्परागत नाचहरु देखाइने छ । महोत्सवका बारे बेसीशहरको गरिएको पत्रकार सम्मेलनमा क्व्होंलसोंथार गाउँपालिकाका अध्यक्ष एवं पसगाउँ सामुहिक होमस्टेका अध्यक्ष सूर्य गुरुङले पसगाउँको पर्यटन गतिविधि, प्राकृतिक सुन्दरता, कला संस्कृति एवं मौलिकतासहित महोत्सवका विविध पक्षका बारेमा प्रकास पारेका थिए ।


समुद्री सतहबाट १६५० मिटरको उचाइमा रहेको पसगाउँ लमजुङको क्व्होलासोंथार गाउँपालिकाको वडा नंं ६ मा पर्छ । प्राकृतिक रुपले सुन्दर यो गाउँ गुरुङहरुको बाहुल्यता रहेको गाउँ हो । गुरुङ जातिको कला संस्कृति, भाषा, संस्कार र परम्पराका कारण यो गाउँको छुट्टै बिशिष्ट महत्व छ । 

पसगाउँमा १ सय ६३ घरधुरी छन् । यीमध्ये २१ घरमा होमस्टेको ब्यवस्था मिलाइएको छ । प्रकृति, भाषा, संस्कृति, परम्परागत हस्तकलासंगै आकर्षक ढुङ्गाले छाइएका लस्करै घर पसगाउँका आकर्षण हुन् । यो गाउँको क्होम्रे डाँडा सूर्योदय र सुर्यास्तको दृष्यावलोकनका लागि अद्वितीय ठाउँ मानिन्छ । उत्तरदेखि पूर्वसम्म लस्करै टल्कने माछापुच्छ«े, अन्नपूर्ण, लमजुङ हिमाल, मनासुलु, हिमालचुली, बौद्ध हिमाल लगायत दर्जनौं हिमश्रृंखलाको मनमोहक दृष्यावलोकन गर्न सकिने क्होम्रे डाँडामा शौचालय, खानेपानी तथा विजुली वत्तीको व्यवस्था सहितको पिकनिक स्पटको रुपमा विकास गरिएको छ । 

पसगाउँ रोयल गोर्खा ट्रेक र गुरुङ सम्पदा मार्गमा पर्ने सुन्दर गाउँ हो । गण्डकी प्रदेशका मुख्य गुरुङ वस्तीलाई छुने गरि बनाइएको गुरुङ सम्पदा मार्गको मुटु मानिने यो गाउँमा पुग्न पहिले जस्तो अहिले यातायातको समस्या छैन । 

काठमाडौंबाट लमजुङ सदरमुकाम बेसीशहर–बाग्लुङपानी–मालिङ–साल्मेभञ्ज्याङ–घाम्राङ हुँदै, बेसीशहरबाट घलेगाउँ–भुजुङ–हुँदै पसगाउँ पुग्न सकिन्छ । दमौली वा पोखराबाट रामबजार–करापु–गिलुङ वा पोखरा–भैंसे, थुम्सीकोट, मुग्रीबेसी– बालुवाबेसी–बगैंचा हुँदै पसगाउँ पुग्न सकिन्छ । 

करीव १ हजार ५० जनसंख्या रहेको पसगाँउको प्रमुख खाद्मान्य बाली धान, कोदो, मकै हुन् । नगदे बालीमा यहाँका वासिन्दहरु चिया खेती, अलैची खेती, एभाकाडो, किवी खेतीतर्फ आर्कषित भएका छन् । जीवीकापार्जनका लागि लाहुरे हुने प्रचलन छ । युवाहरु बैदेशिक रोजगारीमा निर्भर हुँदा गाउँमा महिला, केटाकेटी र बृद्धबृद्धा बढी देखिन्छन् । कला संस्कृतिमा धनी यस गाउँमा कृष्ण चरित्र नृत्य, झयाउरे र सारङ्गी नृत्य, घाँटु जस्ता लोपोन्मुख नृत्यहरु अझै पनि जीवन्त छन् । परम्परागत गुरुङ संस्कृतिको अध्ययनका लागि पसगाउँ राम्रो गन्तब्य हो ।

महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न उप समितीहरु गठन गरिएका छन् । महोत्सवमा लोकप्रिय गुरुङ तथा लोक दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने छ । 

२०६० सालदेखि पसगाउँमा महोत्सव गर्न थालिएकोमा कोभिड १९ को असहज परिस्थिति पछि त्यहाँको पर्यटन व्यवसाय शिथिल भएकोमा अहिले पर्यटनले लय समातेको छ । गुरुङ संस्कृतिको अध्ययन गर्न पनि धेरै पर्यटक त्यहाँ जाने गरेका छन् ।

सिल्दु पुजा, छेदुवा पुजा, क्होम्रे देवी पुजा, भवानी पुजा आदि विशिष्ट परम्परा रितीरिवाजहरु रहेको पसगाँउमा पर्यटकीय तथा हेर्न लायक थुप्रै स्थानहरु रहेका छन् । प्राकृतिक शिव लिङ्ग, भोँ भोँ बजाउने ढुङ्गा लगायत धेरै धार्मिक तथा ऐतिहासिक वस्तुहरु पसगाउँका सम्पती हुन् ।

जडिबुटीको पनि खानी हो पसगाउँ । यहाँका जंगलमा कुरिलो, पाँच औंले, कुडकी, सतुवा, बनलसुन, गुर्जो, निरमसी लगायतका जडिबुटी पाइन्छन् । विभिन्न प्रजातिका निउरो, टुसा, जंगली च्याउ, सिस्नोको परिकारका लागि पनि यो ठाउँ प्रसिद्ध छ । 


प्रतिक्रिया