अनलाइन भोटिङ मार्फत निर्वाचन क्षेत्रकाे नेतृत्व छान्दै राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन क्षेत्रीय समितिको नेतृत्वका लागि अनलाइन भोटिङको आह्वान गरेको छ । मुलुकका ७४ वटा जिल्लामा संगठन निर्माण गरेको रास्वपाले प्रतिनिधि सभाको १६५ क्षेत्रमै क्षेत्रीय समिति विस्तार गर्न लागेको छ । यसका लागि अहिले सबै निर्वाचन क्षेत्रमा अनलाइनमार्फत निर्वाचन क्षेत्र प्रमुखकाे निर्वाचन गर्न लागिएकाे हाे ।

पार्टीका महासचिव मुकुल ढकालका अनुसार अहिले तदर्थ समिति गठनका तयारी गरिएको हो। पार्टीको महाधिवेशन नहुन्जेलसम्मका लागि अहिले बन्ने सबै समिति तदर्थरुपमा रही काम गर्ने छन् । महाधिवेशनपछि नयाँ कार्यसमिति चयन हुने छ । निर्वाचन क्षेत्रमा प्रमुखसहित ५ जनाको समिति रहनेछ ।

रास्वपाले निर्वाचन क्षेत्रीय समितिको लागि अनलाइन उमेदवारी आह्वान गरेको थियो । सबै निर्वाचन क्षेत्रका उम्मेदवारी परेका ठाउँमा आज बिहान ७ बजेदेखि जेठ २० गते साँझ ७ बजेसम्म मतदान गर्न सकिने छ । उमेदवारी नपरेको ठाउँमा भने पछि निर्वाचन हुने उनले जानकारी दिए । उनका अनुसार मतदानका लागि निर्वाचन क्षेत्रका सदस्यले प्रत्यक्ष रुपमा मत हाल्न पाउने छन् । मतदानका लागि अनलाइन एपको ब्यवस्था गरिएको छ । 

मोबाइल एपमार्फत सदस्यता लिने र आफ्नो निर्वाचन क्षेत्रमा उमेदवार बनेकाहरुलाई मतदान गर्न  सकिने छ । मतदानको नतिजा एकदुई दिनमै सार्वजनिक हुने महासचिव ढकालले बताए । निर्वाचन क्षेत्रको समिति गठन भएपछि प्रदेश सभा र पालिका तहको पनि समिति बन्ने छ । आउँदा १५ असारभित्रै प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचन क्षेत्र र पालिकास्तरको समिति गठन भइसक्ने महासचिव ढकालले जानकारी दिए ।

प्रतिक्रिया