बेसीशहर, फागुन १० गते । लमजुङ सदरमुकाम बेसीशहरमा जारी प्रथम लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवमा दर्शकको चाप बढ्न थालेको छ । महोत्सवको उद्घाटनका फागुन ६ गते महोत्सवको त्यति रौनक नदेखिए पनि पछिल्ला दिनहरुमा महोत्सवमा दर्शकहरुको उत्साहजनक उपस्थिति देखिन थालेको हो ।

महोत्सवमा नाम चलेका ख्यातिप्राप्त कलाकारहरुको दैनिक उपस्थितिले दर्शकहरुकोभीड बढेको हो । महोत्सवमा लोक दोहोरीका वादशाह राजु परियार र शीला आलेदेखि युवामाझ लोकप्रिय कलाकारहरु समीक्षा अधिकारी, दुर्गेश थापा, ज्योति मगर जस्ता कलाकारहरुको आगमनले दर्शकको संख्या बढेको हो ।

महोत्सवको उद्घाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका हुन् । ब्यवस्थापकीय कमजोरीका कारण उद्घाटनका दिन लमजुङबासीको उत्साहजनक साथ नपाएको महोत्सवले पछिल्ला दिनमा भने सुखद् उपस्थिति पाएको छ । ब्यवस्थापकीय कमजोरीले उद्घाटनका दिन झाँकी ¥यालीमा समेत जिल्लाका धेरै संघ संस्थाको सहभागिता देखिएन । विद्यालयका छात्रछात्रा र खेलाडीहरुको सहभागिता नभएको भए महोत्सवको ¥याली नै खल्लो हुन पुग्थ्यो ।

बेसीशहरको सहजी खेल मैदानको स्तरोन्नतिका लागि अर्थ संकलन गर्ने पवित्र उद्देश्यलेजिल्ला खेलकुद विकास समितिले पहिलो पटक खेलकुद तथा साँस्कृतिक महोत्सव आयोजना गरेको हो । महोत्सवमा संकलन भएको रकमबाट सहजी रंगशाला विस्तार गर्ने योजना छ ।

सहजी खेलमैदानमा मंगलबारदेखि सुरु भएको महोत्सव अन्तर्गत शनिबार लोक स्वर सम्राट राजु परियार र शीला आलेको भब्य प्रस्तुति रह्यो । राजु र शीलाका एकल तथा दोहोरीमा दर्शकहरुले भरपुर मनोरञ्जन प्राप्त गरे । शुक्रबार गायिका ज्योति मगरको प्रस्तुतिमा सहजी रंशाला झुमेको थियो । शुक्रबारै गायक केशबहादुर गुरुङ, प्रिया गुरुङ सञ्जना श्रेष्ठ लगायतका कलाकारले प्रस्तुति दिए ।
महोत्सवको दोस्रो दिन बुधवार गायिका समीक्षा अधिकारी र हेमन्त शर्माले प्रस्तुति दिए । बिहीबार महोत्सवको तेस्रो दिन गायक दुर्गेश थापाले महोत्सवमा उधुम मच्याए । सोही दिन गायक विवेक धिताल, रवि रिमाल, सञ्जय देवकोटा लगायतको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । महाेत्सवमा हरेक दिन राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष समेत रहेका कलाकार अनुज अधिकारीकाे उद्घाेषण रहने गरेकाे छ ।
महोत्सव अन्तर्गत अझै लोक दोहोरी गायकहरु पशुपति शर्मा, प्रकाश दुतराज, रचना रिमाल,प्रिती आले, श्याम राना, शिव हमाल, सम्झना भण्डारी, एलिना चौहान, चिज गुरुङ जस्ता ख्यातिप्राप्त कलाकार आउनै बाँकी छ । १३ दिन सम्म सञ्चालन हुने महोत्सवमा खेल गतिविधि तर्फ जिल्ला स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता, विद्यालयस्तरीय कराँते प्रतियोगिता, परम्परागत छेलो प्रतियोगिता, स्नुकर प्रतियोगिता र आमा समूहको सामुहिक नृत्य प्रतियोगिता आयोजना भइरहेका छन् ।
महोत्सबमा औद्योगिक तथा व्यापारिक प्रर्दशन, स्थानीय घरेलु तथा हस्तकला प्रर्दशनी, उद्योग तथा व्यवसायिक प्रतिष्ठानको प्रर्दशन, कृषि पशु तथा जडीबुटी प्रदर्शनी, परम्परागत स्थानीय खाना महोत्सव, बाल उद्यान पनि आकर्षणको विषय छन् । यद्यपी महोत्सवस्थलका धेरै स्टलहरु खाली देखिँदा खल्लो भने भएको छ ।