बेसीशहर, भदौ २० गते । चाडपर्वका नाममा गलत काम कारबाही गरिए कानुन अनुसार कारबाही गर्ने चेतावनी लमजुङ प्रशासनले दिएको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङले चाडपर्व मनाउने नाममा राती अबेरसम्म होहल्ला गर्ने, चर्को स्वरमा टोल नै थर्किने गरी गीत बजाउने, सडक चोकमा यातायात आवागमनलाई नै बाधा पुग्ने गरी कार्यक्रम गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको हो ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै चाडपर्व मनाउने सिलसिलामा उल्लेखित कार्य हुने गरेको गुनसो प्राप्त भएको भन्दै त्यस्तो गरेमा कानुनी कारबाही गर्ने चेतावनी दिँदै धर्म, संस्कृति, रितीरिवाज प्रचलन अनुसार चाडपर्व मनाउने र अन्य कार्यक्रम गर्दा तडक भडकरहित, अनुशासित तथा शान्ति सुरक्षामा खलल नपुग्ने गरी गर्नु सबैको दायित्व हुने स्मरण गराएको छ ।
चाडपर्व मनाउने लगायत अन्य कार्यक्रमहरु सञ्चालन गर्ने अधिकार प्रयोग गर्दा अरुको शान्तिपूर्वक बस्न पाउने र निर्वाध आवातजावत गर्न पाउने अधिकार कुण्ठित नहोस भन्ने कुरामा सचेत हुन कार्यालयले आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले जारी गरेका सूचनामा त्यस्ता गतिबिधिहरुको सूक्ष्म निगरानी गरी सूचनाको उल्लंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने उल्लेख गरिएको छ ।
