बेसीशहर । चैतेदशैंको अवसरमा ऐतिहासिक, धार्मिक, प्राकृतिक, पुरातात्विक र सांस्कृतिक गन्तब्य लमजुङको गाउँशहरमा विविध झाँकीसहित चैतेदशैं सांस्कृतिक उत्सव सम्पन्न भएकाे छ ।
गाउँशहरको ऐतिहासिक, धार्मिक, पर्यटकीय र सांस्कृतिक सम्पदा र पुरातात्विक महत्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन चैतेदशैं मेलाका साथ सांस्कृतिक उत्सव आयोजना गरिएको हो । चैते दशैं मेलामा लमजुङका विभिन्न भागबाट सयाैं भक्तजनहरू गाउँशहर पुगेका थिए । मेलामा मेलाको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले उद्घाटन गरे ।
कार्यक्रममा ख्यातिप्राप्त गायक तथा लोक स्वर सम्राट राजु परियार मुख्य आकर्षणको केन्द्र थिए । उनले थुप्रै गीतहरु गाएर मेलामा सहभागीहरुलाई मनोरञ्जन दिलाए । गाउँशहर आफ्नै गाउँ भएको स्मरण गर्दै उनले २५ बर्ष अघि लमजुङबाट काठमाडौं जाँदा गाउँशहर कालिकालाई भाकेर गएको स्मरण गर्दै गाउँशहरकी कालिका साक्षत भगवती भएको चर्चा गरे ।
चैतेदशैं मेला भर्न गएका कयौं सर्वसाधारण राजुको गीतमा झुम्दै नाचेका थिए । तर दुर्भाग्यबस राजुको प्रस्तुति नसकिँदै जोडसंग हावा हुरी चलेर मञ्च नै उडाएपछि कार्यक्रम नै स्थगित गरिएको थियो ।
मेलामा गाउँशहरमा लमजुङ दरबार बोलको गीतकी सर्जक एवं गायिका माया गुरुङले यही कालिका भगवती र लमजुङ दरबारले आफूलाई देशविदेशमा चिनाएको भन्दै गाउँशहरमा लमजुङ दरबार बोलको गीत गाएर दर्शकलाई मन्त्रमुग्ध पारिन् । उनले २०४३ सालमा प्रतिभाको खोजी गर्न लमजुङ आएका रेडियो नेपालका बमबहादुर कार्की, पाण्डव सुनुवार, राम थापा लगायतका अग्रज कलाकारहरुको प्रेरणाले रेडियो नेपालमा गीत गाउन जाँदा गाउँशहरकी कालिका भगवतीलाई भाकेर गएको र पछि देशभरमा प्रथम भइ स्वर्ण पदक जितेको स्मरण गरिन् । सो अवसरमा उनले लमजुङकै स्वर्गिय कलाकार युक्त गुरुङलाई समेत स्मरण गरिन् ।
मेलामा अर्की कलाकार मञ्ज वि.कले समेत विभिन्न गीतहरु गाएर दर्शकको मन जितिन् । कार्यक्रममा राजु र मञ्जुको दोहोरी र ठाडो भाकाको प्रस्तुति समेत गरिने भनिए पनि खराब मौसमका कारण सम्भव हुन सकेन ।
मेलाको उद्घाटन गर्दै मेयर अर्यालले शाहवंशीय राजाहरूको उद्गमस्थल समेत रहेको गाउँशहरको विकासका लागि यस्ता सांस्कृतिक उत्सवले ठूलो भूमिका खेल्ने भन्दै मेयर अर्यालले नगरपालिकाले गाउँशहर क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गरेको बताए ।
उनले विगतदेखि नै यस क्षेत्रको विकासको काम नगरिएकाले यो क्षेत्र पछि परेको भन्दै पछिल्ला ५–७ बर्षमा गाउँशहर क्षेत्रको विकासका लागि धेरै काम भएको दावी गरे ।
कार्यक्रममा नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापछि पूर्णचन्द्र थापा, नेपाली कांग्रेस लमजुङका उपसभापति श्रीकान्त घिमिरे, नेकपा एमाले लमजुङका सचिव राजेन्द्र बोहरा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
मेलाकाे समापनका अबसरमा लमजुङ कालिका युवा क्लव गाउँशहरले लाेक स्वर सम्राट राजु परियार, गायिका माया गुरूङ र मञ्जु वि.कलाइ सम्मान गरेकाे थियाे ।
लमजुुङको गाउँशहरस्थित कालिका भगवती मन्दिरमा हरेक बर्ष चैत्राष्टमीमा ठूलो धार्मिक मेला लाग्ने गर्दछ । गाउँशहरको लमजुङ दरबारसंगै रहेकी कालिका भगवती शाहबंशकी कूलदेवी पनि हुन् । मनोकामना पुरा गर्ने देवीको रुपमा हजारौं भक्तजनले यस मन्दिरमा आई पूजा आराधना गर्नुका साथै पञ्चबली दिने गर्छन् ।
मेलामा कालिका मन्दिरसंगै रहेका धार्मिक एवं पुरातात्विक महत्वका शिवालय मन्दिर, गोरखनाथ मन्दिर, भीमसेन मन्दिर र काउलेपानी देवीको मन्दिर, राजा यशोब्रह्म शाहको शालिक, कुसुण्डे ओडार, पुरानोकोट गढी, शान्ति स्तूपा, चण्डीदेवी मन्दिरमासमेत दर्शनार्थीहरुको घुइचो लागेको थियो ।
गाउँशहरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरहरुलाई चिनाउन लमजुङ कालिका युथ क्लव गाउँशहरले महोत्सवको चाँजोपाँजो मिलाएको थियो ।
चैतेदशैं मेला अन्तर्गत चैत २८ देखि सेवेन ए साइड फुटबल प्रतियोगिता र आजै छेलो प्रतियोगिता आयोजना गरिएको थियो । मेला उद्घाटन पूर्व गाउँशहरमा एक सांस्कृति झाँकीले गाउँ परिक्रमा गरेको थियो ।