मर्स्याङदी गाउँपालिकाका २ सय ५५ ज्येष्ठ नागरिकलाइ फाइबरकाे न्यानाे सिरक

खबरकुञ्ज

बेसीशहर, माघ ७ गते । लमजुङको मर्स्याङदी गाउँपालिकाका २ सय ५५ ज्येष्ठ नागरिकले न्यानो सिरक प्राप्त गरेका छन् ।

पालिकाको महिला तथा ज्येष्ठ नागरिक शाखाले ८४ वर्ष माथिका ज्येष्ठ नागरिकलाई फाइबरको न्यानो सिरक उपलब्ध गराएको हो । पालिकाका ९ वटै वडाका घर घरमा पुगी वडा अध्यक्ष, सदस्य र पालिकाका कर्मचारीले ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक बितरण गरेका हुन् ।

पालिकाले चालु आर्थिक बर्षका लागि ८४ बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई न्यानो सिरक वितरणका लागि बजेट ब्यवस्था मिलाएको थियो । सोही अनुसार हरेक वडा कार्यालयबाट संकलित विवरणअनुसार गाउँपालिकाले २ सय ५५ जना ज्येष्ठ नागरिकलाई फाइबरको न्यानो सिरक उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।


पालिकाका फिल्ड सहायक लक्ष्मी घलेले सम्बन्धित वडाका वडा अध्यक्ष लगायत जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालयले वडा कार्यालयले तोकेको स्थानमा बोलाएर सिरक वितरण गरेकामा उक्त स्थानमा आउन नसक्ने ज्येष्ठ नागरिकहरुको घर घरमा पुगेर वितरण गरिएको जानकारी दिइन् ।

माघको जाडोमा फाइबरको न्यानो सिरक पाएकामा खुशी हुँदै ज्येष्ठ नागरिकहरुले जनप्रतिनिधि र कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।

फिल्ड सहायक घलेका अनुसार पालिकाको वडा नं. १ मा १५ जना, वडा नं. २ मा २५ जना, वडा नंं ३ मा ४७ जना, वडा नं. ४ मा २२ जना,  वडा नंं ५ मा ३४ जना र ९ का ३३ जना ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको बताइन् । उनका अनुसार शुक्रबारमात्रै वडा नं. ६ मा ४० जना, वडा नंं ७ मा १८ जना, वडा नंं ८ मा २० जना र वडा नंं ९ मा३४ जना गरी २ सय ५५ जना ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो ।


गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका लागि चालु आर्थिक बर्षको बजेटबाट ६ लाख रुपैयाँ ब्यवस्था मिलाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले बताए ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पालिकाले ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपांगता भएका नागरिकलाई लाभ हुने खालका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र भावी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।


प्रतिक्रिया