कृत्रिम ऋणी खडा गरी सहकारीकाे ११ कराेड ठगी, कार्यपालिका सदस्यसहित दुइजना पक्राउ

खबरकुञ्ज

बेसीशहर, मंसिर १७ । सहकारीकाे ११ करोड बढी ठगी गरेको अभियोगमा लमजुङमा एक जनप्रतिनिधि सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लमजुङको मर्स्याङदी गाउँपालिकाको वडा नंं ९ का वडा सदस्य मधुमाया बगाले र जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को ङादी सेवा केन्द्रका प्रमुख विरेन्द्र गुरुङ छन् । गएको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएकी बगाले मर्स्याङदी गाउँपालिकाको कार्यपालिका सदस्य समेत हुन् ।

जिल्ला प्रहरी कार्यलय लमजुङको टोलीले निजहरुलाई सोमबार पक्राउ गरी अदालत उपस्थित गराएको छ । जिल्ला अदालत लमजुङले अभियुक्तमध्ये बगालेलाई ६ दिन र गुरुङलाई ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।


पक्राउ परेका बगाले र गुरुङले सेवा केन्द्रबाट कृत्रिम ऋणीहरु खडा गरी झण्डै ११ करोड रुपैयाँ हिनामिना गरेको अभियोग छ । यसका लागि उनीहरूले भुलभुलेमा रहेकाे हिमालयन बैंकमा रहेकाे सहकारीकाे खाताबाट किर्ते हस्ताक्षर गरी रकम निकालेकाे देखिएकाे प्रहरीले जनाएकाे छ ।

संस्थामा सदस्य समेत नरहेकी बगालेले सहकारीका सेवा केन्द्र प्रमुखसंग मिलेमतो गरी करोडौं रुकम अपचलन गरेको सुइँको पाएपछि सहकारीले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङलाई जाहेरी दिएको थियो । कार्यालयले यस सम्बन्धमा आवश्यक छानवीन गरिदिन सहकारी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेपछि रजिष्ट्रारको कार्यालयले बिज्ञ पठाएर छानवीन गरेको थियो । छानवीनका लागि सहकारी रजिष्ट्रारको कार्यालयले बित्तिय विश्लेशक निर्मल गौतम सहितको टोली खटाएको थियो ।

वित्तिय विश्लेषक गौतमको टोलीले उक्त सहकारीको ङादी सेवा केन्द्रको वित्तिय छानवीन गरी प्रतिवेदन तयार गरी प्रहरीलाई बुझाएपछि प्रहरीले सेवा केन्द्र प्रमुख गुरुङ र बगालेलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी निशान्त श्रीवास्तवले जानकारी दिए ।

डिएसपी श्रीवास्तवले भने– “यस प्रकरणमा अरु पनि संलग्न रहेका हुन सक्छन् । हामी अहिले अनुसन्धानको क्रममा छौं, के के छ विस्तारै खुल्दै जाला । ”

गौतमको छानवीनमा मधुमाया बगाले र सेवा केन्द्र प्रमुख बिरेन्द्र गुरुङले ११ करोड बढी सहकारिको रकम हिनामिना गरेको उल्लेख भएको श्रीवास्तवले बताए । छानवीन प्रतिवेदनमा निजहरुले सम्बन्ध कसुर गरेको र नगदसमेत अपचलन गरेकोले उनीहरु उपर सम्पती शुद्धीकरण (मनि लाउन्डरिङ) एन , २०६४ ( संशोधन समेत) को कसुर गरेको पाइएकाले सम्पती शुद्धीकरण तर्फ समेत अनुसन्धान गरि पिडित सहकारीका नाममा रकम भराउनु पर्ने राय ब्यक्त गरिएको बताइएकाे छ ।

स्मरणीय छ, देशभर सहकारी ठगीमा सहकारीका सञ्चालकहरु पक्राउ परे पनि यस प्रकरणमा भने जनकल्याण बचत तथा ऋण सहकारी संस्था भने आफै ठगिएको छ । संस्थाकै कर्मचारीको मिलेमतोमा सहकारीको करोडौं रुपैयाँ अपचलन भएको अनुसन्धानमा देखिएको छ।

प्रतिक्रिया