सुन्दरबजार महोत्सवकाे राैनक लोक दोहोरी प्रतियोगिता, प्रथम पुरस्कार १ लाख

खबरकुञ्ज

बेसीशहर, माघ ६ गते । यही माघ ११ गतेदेखि सञ्चालन हुने दशौं सुन्दरबजार महोत्सवको मुख्य आकर्षण खुल्ला राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता बन्ने भएको छ ।

महोत्सवमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने भए पनि धेरैको आकर्षण लोकदोहोरीमा हुने भएकाले महोत्सवमा राष्ट्रिय लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको हो ।

सुन्दरबजार महोत्सव मूल आयोजक समितिका संयोजक आनन्दराज श्रेष्ठले देशभर लोकदोहोरी प्रति दर्शकको आकर्षण हुने गरेको र दर्शकको माग र चाहना अनुसार लोक दोहोरी प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

लोकदोहोरी गीत उपसमितिका सदस्य बुद्धिबहादुर खड्काले देशभरका कलाकारहरुले प्रतियोगितामा भाग लिन सक्ने र प्रथम स्थान प्राप्त गर्ने समूहलाई नगद १ लाख तथा द्वितीय स्थान प्राप्त गर्ने समूहलाई नगद ५० हजार पुरस्कार दिइने जानकारी दिए । त्यस्तै तृतीय स्थान पाउने टीमले नगद २५ हजार र सान्त्वना स्थान पाउनेले नगद १० हजार पुरस्कार पाउने छन् । प्रतियोगिता भर उत्कृष्ट ठहरिने एक पुरुष र एक महिला कलाकारले नगद ५÷५ हजार पुरस्कार पाउने उनले बताए ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि माघ १२ गतेभित्र टीम दर्ता गरिसक्नु पर्ने र दर्ता शुल्क १ हजार ५ सय लाग्ने छ । लमजुङ कृषि क्याम्पसको प्रांगणमा हुने प्रतियोगिताको एक समूहमा दुई पुरुष र दुई महिला गरी ४ जना हुनुपर्ने नियम छ । प्रतियोगिताको सेमीफानलमा पुग्ने टीमलाई खाने बस्ने ब्यवस्था मिलाइएको खड्काले जानकारी दिए ।

सुन्दरबजारमा यस अघि आयोजित सबै महोत्सवहरुमा लोकदोहोरी गीत प्रतियोगिता हुँदै आएको छ । सुन्दरबजार महोत्सवबाटै उदाएका राजु परियार अहिले नेपालको लोकदोहोरीको चम्किलो तारा बन्दै लोक स्वर सम्राटको उपाधिबाट विभूषित छन् । 

सुन्दरबजार महोत्सवले राजेश अधिकारी, मञ्जु विक, सागर खड्का, ज्ञानबहादुर परियारजस्ता प्रतिभावान कलाकार जन्माएको हो । अधिकारी, विक, खड्का र परियार जस्ता बाल कलाकारले कुनै बेला लोक दोहोरीको क्षेत्रमा उधुम मच्चाएका थिए । यस पटकको प्रतियोगिताबाट राजु जस्तै बन्न सक्ने नवप्रभिाको खोजी गर्ने तयारीसमेत गरिएको खड्काले जानकारी दिए ।

प्रतिक्रिया