फुटबल खेलप्रति लमजुङबासीको लगाव र उत्साहलाई देखेर मुख्यमन्त्री पाण्डे चकित

खबरकुञ्ज

बेसीशहर, पुस २१ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फुटबल खेलप्रति लमजुङबासीको लगाव र उत्साहलाई देखेर आफू चकित परेको बताएका छन् ।

शनिबार ३२ औं त्रिवेणी कप फुटबलको समापनका लागि बेसीशहर आइपुगेका मुख्यमन्त्री पाण्डेले खेल हेर्न आएका दर्शकको भीड देखेर आफू चकित परेको बताएका हुन् । विना पूर्वाधारको खेल मैदानमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुनु लमजुङबासीका लागि गर्वको बिषय भएको भन्दै उनले ठूला ठूला शहरमा भौतिक पूर्वाधारले सम्पन्न रंगशालामा पनि त्रिवेणी कपमा जस्तो दर्शकको भीड आफूले नदेखेको बताए ।

३१ औं त्रिवेणी कपमा प्रमुख अतिथि भएर आउँदा खेलप्रति त्रिवेणी क्लवको लगाव र दर्शकहरुको माया देखेर आफूले रंगशालाको भौतिक पूर्वाधारका लागि २० लाख रुपैयाँ बजेट उपलब्ध गराएको स्मरण गर्दै मुख्यमन्त्री पाण्डेले अब हरेक बर्ष त्रिवेणी कप फुटबल आयोजनाका लागि प्रदेश सरकारले १० लाख उपलब्ध गराउने नीतिगत ब्यवस्था मिलाएको जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले भने– “अब खेलका लागि हरेक बर्ष प्रदेश सरकारले बजेटको ब्यवस्था गर्ने नीतिगत ब्यवस्था मिलाएको छु, कुनै सरकारले पनि यो हटाउन सक्दैन, बरु बजेट बढाउँछ ।”


कानुन अनुसार सहजी रंगशालाका लागि जग्गा खरिद गर्न प्रदेश सरकारले लगानी गर्न नमिल्ने भएकाले उनले स्थानीय निकायको बजेटको विकास निर्माणको बजेटबाट खरिद गर्न अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले खेल मैदानका लागि कटौति भएको बजेटको भरपाई प्रदेश सरकारले गरिदिने आश्वासन दिए । 

उनले भने–“यहाँका दर्शकहरुको उत्साह र क्लवको मेहनेतले म पनि उत्साहित छु । हाम्रो जस्तो पहाडी भुगामा दशौं, बिसौं हजार दर्शक हरु प्याराफिट विना चिसो भुइँमा जसरी बसिरहनु भएको छ, उहाँहरुको उत्साहलाई केही न केही हामीले टेवा पु¥याँछौं, पु¥याउँछौं ।”

पर्याप्त पूर्वाधारको अभावमा पनि त्रिवेणीकप प्रति आम नागरिकको आकर्षण लोभलाग्दो रहेको आफूले देखेको भन्दै मुख्यमन्त्री पाण्डेले राष्ट्रिय खेलाडी र टिमको सहभागिता सँगै  नयाँ र प्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नको लागि त्रिवेणी कप फुटबल प्रतियोगिताले ढोका खोलेको बताए ।

गण्डकी प्रदेश सरकारले खेल पर्यटनको माध्यमबाट पर्यटक लोभ्याउने र स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउने खेल पर्यटनलाई प्रोत्साहन गर्ने नीति लिएको बताउँदै उनले त्रिवेणी कप फुटबल प्रदेशको गौरबशाली प्रतियोगितामा पर्ने बताए ।

मुख्यमन्त्री पाण्डेले प्रतियोगिताको आयोजनाबाट लमजुङको आर्थिक गतिविधि चलायमान भएकामा खुशी ब्यक्त गर्दै नयाँ प्रतिभाको खोजीसंगै ब्यवसायीक खेलाडीको उत्पाादनमा क्लवले जोड दिनुपर्ने सुझाव दिए । खेल क्षेत्रमा नाम र दाम दुवै कमाउने अवस्था बनाउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको उनले बताए । 

बेसीशहर नगरपालिका मेयर गुमानसिँह अर्यालले खेलको विकास र प्रवद्र्धनको लागि त्रिवेणी क्लवले पु¥याएको योगदानको सरहना गरे । उनले राज्यको प्रतिष्ठा र राष्ट्रिय एकतासँग जोडिएको खेलकुद क्षेत्रलाई अझ व्यवस्थित बनाउन सवैको पक्षको सहयोग र सहकार्य आवश्यक रहेको चर्चा गरे ।

क्लवका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको समापन समारोहमा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, प्रदेश सभा सदस्य टीका बस्याल, मध्यनेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डे, क्व्होलासोथार गाउँपालिका अध्यक्ष सुर्यप्रसाद गुरुङ, दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, लगायत राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु उपस्थित थिए ।


प्रतिक्रिया